काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङ गम्भीर विवादमा तानिएका छन्। सार्वजनिक भएको कागजातअनुसार भट्टसम्बद्ध कम्पनी स्टार माइक्रो इन्स्योरेन्स मा गुरुङले आफ्नै नाममा शेयर लिएको पुष्टि भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको हो।
उक्त कम्पनी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेकाले गृहमन्त्री स्वयं त्यसमा साझेदार हुनु नैतिक र कानुनी रूपमा प्रश्नको घेरामा परेको छ। मन्त्रीकै प्रत्यक्ष सरोकार भएको संस्थामाथि अनुसन्धान चलिरहँदा निष्पक्षता प्रभावित हुन सक्ने भन्दै चौतर्फी आलोचना बढिरहेको छ।
विवाद चर्किँदै गएपछि गृहमन्त्री गुरुङ आइतबार राति रवि लामिछानेको बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले जनाएको छ। करिब दुई घण्टा चलेको भेटमा उनले आफूविरुद्ध बढ्दो राजीनामाको दबाब कम गरिदिन आग्रह गरेको बताइएको छ। तर, सभापति लामिछानेले भने विषयलाई व्यक्तिगत रूपमा नभई पार्टी बैठकमा उठाउन सुझाव दिएका थिए।
यस घटनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढ्न थालेको छ। केही नेताहरूले मन्त्री पदमा रहँदै अनुसन्धान प्रभावित हुने सम्भावना देखाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पार्टीको सोमबार बस्ने बैठकमा यस विषयमा औपचारिक छलफल हुने अपेक्षा गरिएको छ।
उता, विपक्षी दलहरू र नागरिक समाजले पनि यो प्रकरणलाई गम्भीर रूपमा लिँदै पारदर्शी छानबिनको माग गरेका छन्। उनीहरूले गृहमन्त्रीजस्तो संवेदनशील पदमा बसेका व्यक्तिको संलग्नता देखिनु शासन प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठाउने विषय भएको बताएका छन्।
यसबीच प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’माथि पनि नैतिक दबाब बढेको छ। यसअघि श्रममन्त्री दीपककुमार साहलाई पदीय दुरुपयोगको आरोपमा पदमुक्त गरिएको उदाहरण प्रस्तुत गर्दै अहिलेको प्रकरणमा पनि समान मापदण्ड लागू गर्नुपर्ने आवाज उठिरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रकरणले सरकारभित्र सुशासन, पारदर्शिता र नैतिकताको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ। यदि समयमै स्पष्ट निर्णय नलिएमा यसले सरकारको विश्वसनीयतामा थप असर पार्न सक्ने चेतावनी समेत दिइएको छ।
प्रतिक्रिया