काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष पठाएको हो ।
राष्ट्रपति सचिवालयका अनुसार सिफारिस गरिएका अध्यादेशबारे राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।
यसअघि गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।
संसद् अधिवेशन सञ्चालन भइरहेका बेला अध्यादेश जारी गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण सरकारले उक्त प्रक्रिया तत्काल अघि बढाएको थिएन ।
तर अहिले सरकारले पुनः अध्यादेशको बाटो रोजेपछि संसद् छल्न खोजिएको भन्दै राजनीतिक वृत्तमा चौतर्फी आलोचना सुरु भएको छ । विपक्षी दल तथा विभिन्न क्षेत्रबाट सरकारले विधायिकालाई बेवास्ता गर्दै अध्यादेशमार्फत निर्णय अघि बढाउन खोजेको आरोप लगाइएको छ ।
प्रतिक्रिया