Dark Mode

      Subscribe

सशस्त्र प्रहरीमा वर्षौंदेखिको बढुवा ‘जाम’ खुल्यो : सुवेदीसहित ६ डिआईजी र ७ एसएसपीको सिफारिस

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १२, शनिबार ०८:३२
सशस्त्र प्रहरीमा वर्षौंदेखिको बढुवा ‘जाम’ खुल्यो : सुवेदीसहित ६ डिआईजी र ७ एसएसपीको सिफारिस

सशस्त्र प्रहरी बलमा लामो समयदेखि रोकिएको पदोन्नति प्रक्रियाले अन्ततः निकास पाएको छ। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त रहेका उच्च पदहरूमा एकैपटक महत्वपूर्ण निर्णय गर्दै ६ जना वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक र ७ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

निर्णयअनुसार नायब महानिरीक्षक पदमा सिफारिस हुनेहरूमा दिगबिजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्। त्यसैगरी वरिष्ठ उपरीक्षक पदका लागि दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की सिफारिस भएका छन्।

संगठनभित्र लामो समयदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा अधिकृतहरूमा निराशा बढ्दै गएको थियो। तर अबको निर्णयले सो निराशा चिरेर नयाँ आशा र उत्साह थप्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आफ्नो कार्यकालको अन्तिम चरणमा पुग्दै गर्दा उनले लामो समयदेखि थन्किएको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याएका हुन्। यसअघि विभिन्न मापदण्ड र मूल्याङ्कनका बहस भए पनि अन्ततः बरियतालाई मुख्य आधार मानेर निर्णय गरिएको बुझिएको छ।

यो सामूहिक बढुवाले संगठनभित्र करियर प्रगतिको बाटो खुला गर्नुका साथै कार्यसम्पादनमा सकारात्मक प्रतिस्पर्धा बढाउने विश्वास गरिएको छ। लामो समय एउटै पदमा सीमित हुनुपर्दा खस्किएको मनोबल अब पुनः उकासिने र संगठनको समग्र कार्यक्षमतामा सुधार आउने अपेक्षा गरिएको छ। यस निर्णयसँगै आगामी दिनमा तल्लो तहका पदहरूमा समेत बढुवाको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ, जसले सशस्त्र प्रहरी बललाई थप गतिशील बनाउने आशा गरिएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १२, शनिबार ०८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP