Dark Mode

      Subscribe

हिरासतमा मृत्यु प्रकरण : श्रीकृष्ण विक घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार १०:१०
हिरासतमा मृत्यु प्रकरण : श्रीकृष्ण विक घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु घटनाले देशभर चर्चा र चासो बढेपछि नेपाल प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निर्णयअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा प्रहरी उपरीक्षक रबिन्द्र नाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजित सुनार र प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्यका रूपमा रहेका छन्।

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा सिन्धुली जिल्ला अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा रहेका विक गत वैशाख ७ गते बिहान हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।

घटनापछि मृतकका परिवारजन र स्थानीयवासीले हिरासतभित्रै शङ्कास्पद अवस्थामा मृत्यु भएको भन्दै निष्पक्ष छानबिनको माग राख्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने मागसमेत अघि सारेका छन्।

यसैबीच, प्रहरीले गठन गरेको छानबिन समितिलाई घटनाको सम्पूर्ण पक्षको तथ्यगत तथा वस्तुनिष्ठ अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। समितिले हिरासतको अवस्थादेखि सुरक्षा व्यवस्थासम्मका सबै पक्षको सूक्ष्म अध्ययन गर्ने जनाइएको छ।

छानबिन समिति गठन भएसँगै पीडित पक्षले तत्कालका लागि आन्दोलन स्थगित गरेको छ। यद्यपि, प्रतिवेदन सार्वजनिक भएपछि मात्र थप कदम चाल्ने चेतावनी उनीहरूले दिएका छन्।

प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रतिबद्ध रहेको जनाएको छ भने मानवअधिकारकर्मी तथा सरोकारवाला निकायहरूले पनि निष्पक्ष र पारदर्शी छानबिनको आवश्यकता औंल्याएका छन्।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार १०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP