काठमाडौंको आकाश अब पहिले जस्तो स्वच्छ र नीलो देखिँदैन। बिहानको घाम पहेंलो पर्दाभित्रबाट झुल्किएको जस्तो लाग्छ र टाढा देखिनुपर्ने हिमालहरू धुम्मिएर हराउन थालेका छन्।
सास फेर्नु जस्तो सामान्य क्रियासमेत अहिले जोखिमपूर्ण अनुभव हुन थालेको छ। यो केवल अनुभूतिमात्र होइन, वैज्ञानिक तथ्यले पुष्टि गरेको यथार्थ हो, नेपाल अहिले गम्भीर वायु प्रदूषण संकटको बीचमा उभिएको छ र तत्कालका लागि उभिइरहने छ ।
नेपालमा वायु प्रदूषणको समस्या दिनानुदिन गहिरिँदै गएको छ। विभिन्न अध्ययनहरूका अनुसार देशमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको अनुमान छ। यो संख्या केवल तथ्याङ्क होइन, हजारौं परिवारको पीडा र अधुरो जीवनको कथा हो।
यदि समग्र मृत्युदरसँग तुलना गर्ने हो भने करिब प्रत्येक सात जनामध्ये एक जनाको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित देखिन्छ। अझ दुःखद पक्ष के छ भने यी मृत्युमध्ये ठूलो हिस्सा पाँच वर्षमुनिका बालबालिकाको छ। जसले जीवन सुरु गर्न नपाउँदै उनीहरुले कुनै अपराध नगरी नै जोखिमको सामना गर्नुपरेको छ र अब जन्मिनेमा पनि यस्तो अवस्था नआउला भन्ने ठोस आधार देखिन्न ।
वायु प्रदूषणको अवस्था बुझ्नका लागि वायु गुणस्तर सूचक अर्थात एक्युआई महत्त्वपूर्ण मानिन्छ। यो मापनअनुसार ० देखि ५० अंकसम्मको सूचक सुरक्षित मानिन्छ भने १ सय ५० अंकभन्दा माथि पुगेपछि अवस्था अस्वस्थ मानिन्छ।
काठमाडौंमा यो सूचक प्रायः १ सयदेखि २ सयको बीचमा रहन्छ । जुन नियमित रूपमा अस्वस्थ श्रेणीमा पर्छ। केही दिनहरूमा यो स्तर १ सय ५० माथि पुग्नु सामान्यजस्तै भएको छ। पोखरा र विराटनगरजस्ता घना बस्तीमा रुपान्तरण भइरहेका शहरहरूमा पनि स्थिति खासै सन्तोषजनक छैन । यी स्थानहरुमा एक्युआई प्रायः संवेदनशीलदेखि अस्वस्थ तहसम्म पुग्ने गरेको छ।
विश्व स्वास्थ्य संगठनले सूक्ष्म कण (ए २ दशमलव ५) को सुरक्षित वार्षिक औसत मात्रा प्रतिघनमिटर ५ माइक्रोग्रामभन्दा कम हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ। तर नेपालका शहरी क्षेत्रमा यो मात्रा प्रायः पाँचदेखि दस गुणासम्म बढी देखिन्छ। यदि नेपालले यो मापदण्डभित्र वायु प्रदूषणलाई ल्याउन सकेमा नेपालीहरूको औसत आयु करिब ३ दशमलव ३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ। यसले वायु प्रदूषण केवल वातावरणीय समस्या नभई प्रत्यक्ष रूपमा मानव जीवनको अवधि र गुणस्तरसँग जोडिएको विषय भएको स्पष्ट पार्छ।
वायु प्रदूषणको प्रभाव शरीरभित्र गहिरो रूपमा प्रवेश गर्छ। हामीले सास फेर्दा हावासँगै अत्यन्त सूक्ष्म विषाक्त कणहरू फोक्सो हुँदै रगतमा मिसिन्छन्। यी कणहरूले समयसँगै शरीरका विभिन्न अङ्गहरूमा असर पुर्याउँछन्।
दम, हृदय रोग, मस्तिष्कघात, उच्च रक्तचाप, क्यान्सरजस्ता गम्भीर रोगहरू वायु प्रदूषणसँग प्रत्यक्ष रूपमा जोडिएर आउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न प्रतिवेदनहरूले यी रोगहरूको बढ्दो दरलाई वायु प्रदूषणसँग जोडेर हेरेका छन्। ती प्रतिवेदनहरु सरकारी दस्तावेज भएकोले सत्यतानिकट हुनेमा विश्वास गरिन्छ ।
बालबालिकामा यसको प्रभाव अझ गहिरो हुन्छ। उनीहरूको शरीर अझै विकासको चरणमा हुने भएकाले प्रदूषणले फोक्सोको वृद्धि अवरुद्ध गर्न सक्छ। मस्तिष्क विकासमा ढिलाइ ल्याउन सक्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउन सक्छ।
यसको दीर्घकालीन असर उनीहरूको शैक्षिक क्षमता, व्यवहार र समग्र जीवनस्तरमा देखिन्छ। गर्भवती महिलाहरूमा समेत वायु प्रदूषणले गम्भीर असर पार्ने देखिएको छ । जसले कम तौलका शिशु जन्मिनु, गर्भकालीन जटिलता हुनु, अधिक रक्तश्राव, बिकलाङ्ग हुनुजस्ता कारणले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ र देशका बिभिन्न स्थानमा यस्ता घटना देखिने गरेकै छन् ।
वायु प्रदूषणको प्रभाव केवल स्वास्थ्यमा सीमित छैन। यसले अर्थतन्त्रमा पनि गहिरो असर पारिरहेको छ। प्रदूषणका कारण स्वास्थ्य खर्च बढिरहेको छ, कामदारहरूको उत्पादकत्व घटिरहेको छ र बिरामीका कारण समाज, परिवार र स्वास्थ्यकर्मीहरुको कार्यघण्टा नष्ट भइरहेको छ। पर्यटन क्षेत्र, जुन नेपालको अर्थतन्त्रको एक प्रमुख आधार हो, प्रदूषणका कारण प्रत्यक्ष रूपमा प्रभावित भइरहेको छ।
धुम्मिएको आकाश र अस्पष्ट दृश्यहरूले नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्न कठिन बनाएको छ। साथै हावामा धुलो र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) घट्दा सडक दुर्घटनाको जोखिम पनि बढिरहेको छ। यस्तो समस्या वर्षायाम भन्दा हिउँदको समयमा अधिक भोग्नु परिरहेको छ ।
अब प्रश्न उठ्छ, हाम्रो देशमा यस्तो अवस्था किन आयो? नेपालमा वायु प्रदूषणको प्रमुख कारण मानवीय गतिविधिहरू नै हुन्। यातायात क्षेत्र यसमा सबैभन्दा ठूलो योगदानकर्ता हो।
जसले करिब ६० प्रतिशत प्रदूषण सिर्जना गर्छ। पुराना र मर्मत नभएका सवारी साधन, कमजोर इन्धन गुणस्तर र बढ्दो ट्राफिक जामले प्रदूषणको स्तर बढाइरहेको छ। काठमाडौंजस्तो सहरमा घण्टौंसम्म गाडी जाममा रोकिने अवस्था सामान्य भइसकेको छ, जसले निरन्तर धुवाँ उत्सर्जन गरिरहन्छ।
औद्योगिक क्षेत्रले करिब १५ प्रतिशत योगदान गर्छ। सिमेन्ट उद्योग, इँटा भट्टा, र विभिन्न फ्याक्ट्रीहरूबाट निस्कने धुवाँ र धुलोले वातावरणलाई प्रदूषित बनाइरहेको छ। यस्ता उद्योगहरूमा प्रदूषण नियन्त्रणका मापदण्डहरू पर्याप्त रूपमा कार्यान्वयन नहुनु पनि समस्या हो।
घरायसी प्रयोगका लागि बालिने दाउरा, गुइँठाजस्ता बस्तुको दहन अर्को महत्त्वपूर्ण कारण हो। अझै पनि धेरै परिवारहरू खाना पकाउन काठ, कोइला वा गुइँठा र अन्य यस्तै प्रकृतिबाट पाइने जीवाश्म इन्धन प्रयोग गर्छन्। यसले घरभित्रै प्रदूषण सिर्जना गर्छ, जसको सबैभन्दा बढी असर महिला र बालबालिकामा पर्छ र परिरहेको छ।
कृषि र फोहोर व्यवस्थापनमा देखिएको कमजोरीले पनि समस्या थपेको छ। खेतमा पराल जलाउने, खुला रूपमा फोहोर जलाउने, र वन डढेलोले वायु प्रदूषणको स्तर बढाउँछन्। कृषि प्रणाली वा धान, मकै, दाल, तरकारीजस्ता दैनिक उपभोग्य खाद्यान्न उत्पादनमा अधिक रासायनिक मलको प्रयोगका कारण धानको पराल, मकैको ढोड, गहुँको छ्वाली पशुचौपायाले खान छोडेका छन् । यस्ता चिजहरु नष्ट गर्न जलाउनै पर्छ । जसले पनि वायु प्रदूषण बढाउनमा केही योगदान दिने गरेको देखिन्छ ।
नेपालको भौगोलिक अवस्था पनि यस समस्याको एक कारण हो। काठमाडौं उपत्यका बेसिन आकारको भएकाले प्रदूषित हावा यहाँबाट बाहिर निस्कन कठिन हुन्छ। हिउँदको समयमा हुने वायुमण्डलीय इनभर्जनले प्रदूषणलाई तलै थुनिदिन्छ, जसले गर्दा स्थिति झनै गम्भीर बन्छ।
समस्या जति गम्भीर छ, समाधान पनि त्यति नै आवश्यक र सम्भव छ। सरकारको भूमिकाले यहाँ निर्णायक स्थान ओगट्छ। पुराना सवारी साधनलाई चरणबद्ध रूपमा हटाउने, इन्धनको गुणस्तर सुधार गर्ने र उद्योगहरूको कडा अनुगमन गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।
यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवद्र्धन सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। नेपालसँग जलविद्युतमा आधारित करिब ४ हजार मेगावाट उत्पादन क्षमता रहेको छ । अहिले देशमा करिव ३ हजार ५ सय मेगावाट क्षमताका विद्युत आयोजना सञ्चालनमै छन् । हिउँदको समयमा पनि करिव १ हजार ८ सय मेगावाट विजुली उत्पादन हुने गरेकै छ । हिउँदमा लामो समय पानी परेन भने उत्पादन घटेर १ हजार ३ सय मेगावाटसम्ममात्र उत्पादन हुन सक्छ ।
अहिले प्रत्येक वर्षमा करिव ५ सय मेगावाट विजुली थपिँदै गइरहेको छ । विजुली उत्पादन यसरी दिनदिनै बढ्ने चरणमा रहेकोले विद्युतीय सवारीलाई सहज रूपमा समर्थन गर्न सक्छ। सार्वजनिक यातायातलाई विद्युतीय बनाउने, चार्जिङ स्टेशनहरू विस्तार गर्ने र निजी सवारीभन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिने नीतिहरू आवश्यक छन्।
प्रविधिको प्रयोगले पनि समाधानमा ठूलो भूमिका खेल्न सक्छ। वायु गुणस्तर अनुगमन प्रणाली, धुलो नियन्त्रण प्रविधि र नवीकरणीय ऊर्जाको प्रयोगले प्रदूषण घटाउन मद्दत पुर्याउँछ।
तर, समाधान केवल सरकारको हातमा मात्र छैन। नागरिकको भूमिकासमेत उत्तिकै महत्त्वपूर्ण छ। सार्वजनिक यातायात प्रयोग गर्ने, फोहोर नजलाउने, वृक्षारोपण गर्ने र प्रदूषणबारे अरूलाई सचेत गराउनेजस्ता साना कदमहरूले ठूलो प्रभाव पार्न सक्छन्।
समय अझै बाँकी छ । गर्न खोजेको खण्डमा प्रदूषण न्यूनिकरण गर्न सकिन्छ। तर, ढिलो हुँदै गएको छ। यदि अहिले नै प्रभावकारी कदम चालिएन भने आगामी वर्षहरूमा नेपाल विश्वका सबैभन्दा प्रदूषित देशहरूको सूचीमा अग्रस्थानमा पुग्न सक्छ। तर, यदि अहिले नै सरकोकारवाला सबै निकय, नागरिकबीच समन्वय गर्दै उचित प्रयास गरियो भने, आगामी दशकमा ठूलो सुधार सम्भव छ।
अन्ततः स्वच्छ हावा कुनै विलासिता होइन, यो आधारभूत मानव अधिकार हो। तर अधिकारसँगै जिम्मेवारी पनि आउँछ। सरकार, निजी क्षेत्र र नागरिक सबैले आ–आफ्नो भूमिका निर्वाह गरेमात्र यो संकटबाट पार पाउन सकिन्छ।
आजको निर्णयले नै भोलिको जीवन निर्धारण गर्छ। यदि हामीले आज हावालाई जोगाउन सकेनौं भने, भोलि सास फेर्नसमेत कठिन हुनेछ। त्यो अवस्था सबैका लागि भयावह नै हुन्छ ।
प्रतिक्रिया