काठमाडौं । महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने भएको छ।
भूमि सुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार वैशाख ८ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था सार्वजनिक गरेको हो।
नयाँ नियमअनुसार ३ करोडभन्दा माथिको थैली अंक भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीको माध्यम अपनाउनुपर्नेछ। यस्तो कारोबार अब व्यक्तिगत रूपमा सिधै मालपोत कार्यालयबाट पारित नहुने जनाइएको छ।
यो व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क र २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित सरकारी सूचनाका आधारमा कार्यान्वयनमा ल्याइएको हो। उच्च मूल्यका घरजग्गा कारोबारलाई कानुनी दायरामा ल्याउँदै पारदर्शिता कायम गर्ने उद्देश्यले सरकार यो कदम अघि सारेको हो।
मालपोत कार्यालयका अनुसार इजाजत प्राप्त कम्पनीहरूको सूची विभागको आधिकारिक वेबसाइटमा उपलब्ध छ। सरोकारवालाहरूलाई सूचीकृत कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
सरकारले यस व्यवस्थाबाट घरजग्गा कारोबारमा हुने अनियमितता, ठगी तथा अवैध गतिविधि नियन्त्रण हुनुका साथै राजस्व प्रणाली थप व्यवस्थित हुने विश्वास लिएको छ।
प्रतिक्रिया