काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
विभागले हालै यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिएको हो।
इन्धनको मूल्यवृद्धिपछि केही सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएपछि विभागले यस्तो कदम चालिएको जनाएको छ। पछिल्लो समय विद्यार्थीहरूले ‘हेलो सरकार’ लगायत विभिन्न गुनासो माध्यममार्फत छुट नपाएको, विद्यार्थी परिचयपत्र देखाउँदा समेत सेवा अस्वीकार गरिएको तथा दुर्व्यवहार भएको भन्दै उजुरी गरेका छन्।
यस्ता उजुरी र घटनामा वृद्धि भएपछि नियम उल्लंघन गर्ने सवारीसाधन तथा व्यवसायीलाई कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट पाउने कानुनी व्यवस्था रहेको छ।
उक्त व्यवस्था पालना नगर्ने सवारीसाधनलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने विभागले स्पष्ट पारेको छ। साथै विद्यार्थीमैत्री यातायात सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन गर्न समेत निर्देशन दिइएको छ।
प्रतिक्रिया