Dark Mode

      Subscribe

नदीकिनारका बस्ती व्यवस्थापनमा सरकार गम्भीर, सुरक्षित स्थानमा स्थानान्तरण गछौं: प्रधानमन्त्री बालेन

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार १२:१४
नदीकिनारका बस्ती व्यवस्थापनमा सरकार गम्भीर, सुरक्षित स्थानमा स्थानान्तरण गछौं: प्रधानमन्त्री बालेन

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको बताएका छन्। उनले यो समस्या वर्षौँदेखिको स्थायी चुनौती भएको उल्लेख गर्दै अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले जोखिमयुक्त स्थानमा नागरिकलाई यथावत् बस्न दिनु गैरजिम्मेवार हुने भन्दै सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै नागरिकको अधिकार भएको स्पष्ट पारे। उनले यस्तो विषयलाई राजनीतिक लाभ वा भोटसँग जोड्नु उचित नहुने पनि संकेत गरेका छन्।

उनका अनुसार नदी तथा खोला किनारका अव्यवस्थित बस्तीहरूले ढल निकास प्रणाली निर्माणमा अवरोध पुर्‍याउनुका साथै उपत्यकाका नदीहरू प्रदूषित बन्दै गएका छन्। यसलाई मध्यनजर गर्दै थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका जोखिमपूर्ण बस्तीहरूलाई मानवीय आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

सरकार सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले देशभरका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना अघि बढाइएको बताएका छन्।

प्रधानमन्त्री शाहले काठमाडौंका नदीकिनारका बस्ती र देशभरका सुकुम्बासी समस्या फरक प्रकृतिका भएकाले दुवैलाई छुट्टाछुट्टै ढङ्गले समाधान गरिने बताएका छन्। साथै, वर्षौँदेखि जटिल बनेको यस समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गर्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार १२:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP