काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संसदीय दलका उपनेता गणेश पराजुलीले राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका कारण स्थानीय तह कमजोर बन्दै गएको बताएका छन्।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाए पनि व्यवहारमा त्यसको उद्देश्य विपरीत परिणाम देखिएको टिप्पणी गरे।
पराजुलीले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गर्दै संविधानमार्फत तीन तहको सरकार निर्माण गरिएको स्मरण गराउँदै स्थानीय तहलाई प्रभावकारी र जवाफदेही बनाउने प्रयास भइरहेको बताए।
उनका अनुसार संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको भावना स्पष्ट रूपमा स्थापित गरेको छ। स्थानीय कार्यपालिका, अधिकार, कर प्रणाली तथा कानुन निर्माणका विषय संविधानमै स्पष्ट रूपमा उल्लेख गरिएको उनले बताए।
तर व्यवहारमा भने संघबाट पठाइने प्रशासकीय प्रमुखहरू राजनीतिक प्रभावमा पर्ने प्रवृत्ति देखिएको उनले आरोप लगाए। “प्रशासकीय प्रमुख आफ्नो अनुकूल हुनुपर्छ, दलगत सदस्यता लिएको हुनुपर्छ भन्ने सोच विकास भयो,” उनले भने।
उनले यस्ता प्रवृत्तिले स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढाएको उल्लेख गर्दै यसले सुशासनको लक्ष्यलाई कमजोर बनाएको बताए।
पराजुलीले स्थानीय तहलाई वास्तवमै सशक्त बनाउन राजनीतिक हस्तक्षेप अन्त्य गर्दै पारदर्शी र उत्तरदायी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया