काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया