काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा आउन नसके देशले गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
प्रचण्डले अहिले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै नेतृत्व तहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको एकताको चाहनालाई आत्मसात् गर्नुपर्ने बताए । उनले देशभक्त र कम्युनिष्ट शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको धारणा राखे ।
उनले भने, “आम रूपमा वामपन्थी र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्ने आवाज उठिरहेको छ । साथै शान्ति सम्झौतापक्षीय दलहरू पनि एक ठाउँमा आएर साझा मोर्चा बनाउनुपर्ने माग जनताबाट आएको छ ।”
प्रचण्डले भदौ २३ र २४ पछिको राजनीतिक अवस्था अपेक्षाकृत नकारात्मक देखिएको उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमै पनि सकारात्मक सम्भावना खोज्नुपर्ने बताए । उनले यही परिस्थितिले सबै कम्युनिष्ट शक्तिहरूबीच एकताको अवसर सिर्जना गरेको समेत बताए ।
प्रतिक्रिया