Dark Mode

      Subscribe

काठमाडौँ महानगरको आग्रह : वाटर एटीएम पिउने प्रयोजनमै प्रयोग गरौँ

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २८, सोमबार ०७:१२
काठमाडौँ महानगरको आग्रह : वाटर एटीएम पिउने प्रयोजनमै प्रयोग गरौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा सञ्चालनमा रहेका निःशुल्क वाटर एटीएम वुथको दुरुपयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगरले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा हाल ८ वटा निःशुल्क वाटर एटीएम सञ्चालनमा ल्याएको छ । पछिल्लो समय केही स्थानमा कपडा धुने तथा ठूलो भाँडामा पानी भरेर लैजाने जस्ता गतिविधि बढेपछि महानगरले त्यस्ता कार्य नगर्न अनुरोध गरेको हो ।

महानगरका अनुसार उक्त पानी पिउने प्रयोजनका लागि मात्रै उपलब्ध गराइएको हो । निर्माण सम्पन्न भई परीक्षण प्रक्रिया सकिएपछि वैशाख ५ गते यी वुथको औपचारिक शुभारम्भ गरिएको थियो ।

८ वटा वुथ निर्माणका लागि करिब २ करोड ६० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । वुथमार्फत राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ अनुसारको स्वच्छ पिउने पानी निःशुल्क उपलब्ध गराइँदै आएको छ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका प्रत्येक वुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ । खुलामञ्च, महाबौद्ध, दरबार हाइस्कूल कम्पाउण्ड, राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, वडा नं. १७ ढल्कोचोक, वडा नं. ५ नरदे (हाँडीगाउँ), वडा नं. २६ र वडा नं. ३१ परिसरमा यी वुथ जडान गरिएका छन् ।

वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ भने पानीको गुणस्तर नियमित परीक्षण गरिने महानगरले जनाएको छ । २४सै घण्टा पानी उपलब्ध हुने व्यवस्था गरिएको छ । साथै, यसको संरक्षण र निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ ।

महानगरले यी वुथलाई काठमाडौँको परम्परागत ‘जरुहिटी’ संस्कृतिको आधुनिक रूपका रूपमा व्याख्या गरेको छ । पहिले धारामा पानी लिन जाँदा स्थानीयले बटुवाको तिर्खा मेटाउन छुट्टै पानी राख्ने परम्परा रहेको स्मरण गर्दै महानगरले सामूहिक हितका लागि सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबैलाई आग्रह गरेको छ ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २८, सोमबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP