पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीले ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँको जेभी ठेक्कामा ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध जेभीहरूको बैंक खाताबाट सिधै देउकला अधिकारीको खातामा पटक-पटक गरी उक्त रकम जम्मा भएको अनुसन्धानबाट खुलेको हो।
अख्तियारका अनुसार उनीहरूले घुसवापत पाएको सोही अवैध रकमबाट संयुक्त नाममा जग्गा र सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरी सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने र हस्तान्तरण गर्ने कार्य गरेका थिए।
भ्रष्टाचार गरी आर्जन गरेको रकमलाई सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा समेत मुद्दा दायर गर्दै आयोगले ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गरेको छ। प्रवक्ता सुरेश अधिकारीका अनुसार घुसको रकमलाई रूपान्तरण गरी सम्पत्ति जोडेको पुष्ट्याइँसहित विशेष अदालतमा मंगलबार दुवै जनाविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको हो।
प्रतिक्रिया