Dark Mode

      Subscribe

महानगरद्वारा सुकुम्बासी बस्ती खाली गर्न २४ घण्टे अल्टिमेटम: १२ गतेदेखि डोजर चल्ने

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १०, बिहीबार १७:११
महानगरद्वारा सुकुम्बासी बस्ती खाली गर्न २४ घण्टे अल्टिमेटम: १२ गतेदेखि डोजर चल्ने

काठमाडौं महानगरपालिकाले खोला किनारका सुकुम्बासी बस्ती हटाउन अन्तिम तयारी सुरु गरेको छ। महानगर प्रहरीले बिहीबार साँझदेखि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्दै आगामी २४ घण्टाभित्र अवैध संरचना खाली गर्न निर्देशन दिएको हो।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार वैशाख ११ गते साँझ ७ बजेभित्र सबै घर-टहरा खाली गरिसक्नुपर्नेछ। बिहीबार सार्वजनिक गरिएको ६ बुँदे निर्देशनमा वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर चलाएर अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराइने उल्लेख छ।

महानगरले मानवीय संवेदनशीलतालाई ध्यान दिँदै वृद्धवृद्धा, बालबालिका, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। यस प्रक्रियामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत सहयोग गर्ने जनाइएको छ। सूचनाको बेवास्ता गरी अवरोध पुर्‍याएमा कानुन बमोजिम कारबाही हुने र व्यक्तिगत सम्पत्तिको क्षति भएमा सम्बन्धित पक्ष नै जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।

बस्ती हटाउने कार्यसँगै महानगरले वास्तविक भूमिहीनहरूको लगत संकलन र ‘स्क्रिनिङ’ को काम तत्कालै सुरु गर्ने प्रतिवद्धता जनाएको छ। यकिन भएका वास्तविक सुकुम्बासीहरूलाई १० देखि १५ दिनभित्रै उचित बसोबासको प्रबन्ध मिलाउने तयारी समेत भइरहेको छ।

प्रधानमन्त्री बालेन शाहले बुधबार मात्रै सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै उपत्यकाका सुकुम्बासी बस्ती हटाउने कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो। सोही बमोजिम अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको सुरक्षा समन्वयमा महानगर प्रहरीले सक्रियता बढाएको हो।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १०, बिहीबार १७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP