काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा पछिल्ला दिनहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशनसम्बन्धी उजुरी तथा जनगुनासो उल्लेखनीय रूपमा बढेको जनाएको छ।
काउन्सिलका अनुसार केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पर्ने गरी मिथ्या सामग्री प्रसारण गर्ने गुनासा पनि प्राप्त भएका छन्।
यस्तै, सामाजिक सञ्जालमार्फत प्रमाणबिना सामग्री सेयर गर्ने, छोटा भिडियो (रिल) बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो रहेको काउन्सिलले जनाएको छ।
बाँके, प्युठान, दाङ, अर्घाखाँची र कैलाली लगायत जिल्लाबाट सञ्चारकर्मीहरूले सरकारी कार्यालयमा अनुमति बिना प्रवेश गरी भिडियो खिच्ने, प्रश्न सोध्ने र पछि सामग्री प्रसारण गरेको भन्दै बिल पेश गर्ने जस्ता गतिविधिबारे पनि गुनासा आएको काउन्सिलले उल्लेख गरेको छ।
प्रेस काउन्सिलले यस्ता कार्यहरू पत्रकारिताको पेसागत आचरणविपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गरेको छ। साथै सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छ।
काउन्सिलले गलत वा भ्रामक सामग्रीका कारण प्रभावित व्यक्ति वा संस्थाले उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी गराउँदै मिथ्या सूचना, चरित्र हत्या तथा धम्कीपूर्ण गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया