काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार आयोजित कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् ।
नेपाल भलिबल संघका अनुसार यसपटक प्रतियोगिताका लागि दैनिक अधिकतम ९०० देखि १ हजारसम्म टिकट बिक्री गरिनेछ । खेलको महत्वअनुसार टिकट दर १०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
संघले यसपटक प्रतियोगिताको आधिकारिक टिकट बिक्रीको जिम्मेवारी पनि आफैंले सम्हाल्ने जनाएको छ ।
प्रतिक्रिया