Dark Mode

      Subscribe

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने

  • sukalpakhabar sukalpakhabar
  • २०८३ असार १, सोमबार १४:०१
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित भएको छ।

सोमबार राष्ट्रिय सभा गृहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको नगर सभाको १९औँ अधिवेशनले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

गत जेठ ३१ गते सम्पन्न नगर सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले महानगरको दीर्घकालीन सोच, उद्देश्य तथा योजनालाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमलाई समेत समेटेर ११ क्षेत्रअन्तर्गत १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रस्तुत नीतिमा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा तथा आधुनिक सहरी विकासलाई आधार बनाएर आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गरिएको छ।

नीतिमाथिको छलफलका क्रममा नगर सभा सदस्यहरूले पूर्वाधार तथा सामाजिक विकास, विपद् व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली, मानव तथा पशु कल्याण, फोहोर व्यवस्थापन, डुवान तथा पार्किङ समस्या समाधान, भूमिहीन र सुकुम्बासी व्यवस्थापन, भवन अभिलेखीकरण, सांस्कृतिक सम्पदाको संरक्षण तथा परम्परागत बस्तीको मौलिकता जोगाउने विषयमा सुझाव र संशोधन प्रस्ताव राखेका थिए।

कार्यवाहक प्रमुख डंगोलले प्राप्त सुझाव र संशोधन प्रस्तावलाई आवश्यकताअनुसार समावेश गरिने प्रस्ताव राखेकी थिइन्। उक्त प्रस्ताव नगर सभाबाट सर्वसम्मत रूपमा पारित भएको महानगरपालिकाले जनाएको छ।

पारित नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गरिनेछ। महानगरपालिकाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्न नगर सभाको तेस्रो बैठक असार ४ गते दिउँसो ३ बजेका लागि बोलाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ असार १, सोमबार १४:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP